• Menu

मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल प्रफिट

२०८१ साउन १०, १९:४५

मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले भोलि बिहान सञ्चालक समिति बैठकबाट मौद्रिक नीति पारित गर्ने र दिउँसो सार्वजनिक गर्ने तयारी गरेको हो । त्यसका लागि सञ्चालक समिति बैठक बोलाइसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले ‘बजार चलायमान बनाउने मौद्रिक नीति तयार पारेको’ जानकारी अर्थमन्त्रीलाई यसअघि नै गराइसकेको छ । कर्जाको माग हुन नसकेर दबाबमा रहेको राष्ट्र बैंकले विस्तारकारी नीति लिने देखिएको छ ।

गभर्नर अधिकारीले पनि विभिन्न सार्वजनिक फोरममा कर्जाको माग बढाउनु अहिलेको चुनौती भएको र त्यसमा राष्ट्र बैंकले विशेष तयारी गर्नुपर्ने देखिएको बताउँदै आएका छन् ।

राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत पनि विस्तारकारी नीति लिएको स्पष्ट गरेको छ । गत आवमा ११.५ प्रतिशतको कर्जा वृद्धि लक्ष्य राखेकोमा ६ प्रतिशत पनि वृद्धि भएको छैन । यसपटक कर्जा वृद्धिको लक्ष्य पूरा हुने गरी नीतिगत लचकता अपनाउने राष्ट्र बैंकको तयारी छ ।