• Menu

होरिअन बी टु बी समिटको दोस्रो संस्करण भोलि, आईसीटी क्षेत्रका चुनौती र अवसरलाई सम्बोधन गर्ने विश्वास

नेपाल प्रफिट

२०८१ साउन १०, ११:०१

होरिअन बी टु बी समिटको दोस्रो संस्करण भोलि, आईसीटी क्षेत्रका चुनौती र अवसरलाई सम्बोधन गर्ने विश्वास

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा साउन ११ गते शुक्रबार ‘होरिअन बी टु बी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने भएको छ । राजधानीको एभरेस्ट होटलमा हुने दोस्रो संस्करणको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबाट हुनेछ ।

बी टु बी समिट २०२४ को मुख्य विषयवस्तु ‘आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य’ रहेको छ ।

बी टु बी समिट व्यापारको भविष्यबारे कि नोट स्पिच, डिजिटल रूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे छलफल, आर्टिफिसियल इन्टेलिजेन्सका साथै नेपालका लागि विभिन्न कम्पनीका आधिकारिक डिलर र रि सेलरहरुबीच व्यापार प्रवर्धनको अवसर हुनेछ । समिटले आयातकर्ता र विक्रेता बीचको खाडल कम गर्ने काम गर्छ ।

बी टु बी मार्फत देशभरिका डिलर र व्यावसायीलाई जोड्ने काम हुन्छ । समिटमा व्यवसायीहरु, कर्पोरेट हाउस र प्रोफेसनलको अभूतपूर्व जमघटका साथै नवीनतम प्रविधिको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । यस संस्करणको सम्मेलनले नेपालको आईसीटी क्षेत्रका चुनौती र अवसरलाई सम्बोधन गर्ने उनको विश्वास छ ।

कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेकलगायत क्षेत्रका एक सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

यस समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादन र सेवा प्रदर्शन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । समिटमा क्यान महासंघका ७४ जिल्ला र प्रादेशिक शाखाका प्रतिनिधिलाई अन्य व्यावसायिक संस्था र व्यक्तिसँग परिचित हुने अवसर मिल्ने उनले जनाए ।

उनका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीका लागि आफ्ना उत्पादन र सेवा प्रवर्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्र तथा बजारमा व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ ।

सन् १९९२ मा स्थापना भएको क्यान महासंघले सरकारको आईसीटी योजना र नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । ३२ वर्षको इतिहासमा महासंघले नेपालका सबै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ भने देशको संघीय प्रणालीअनुसार सातवटै प्रदेशमा प्रादेशिक समिति पनि स्थापना गरेको छ ।