काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुको निर्यात प्रवर्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् ।
निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्धन गर्न सरकारले नीतिगत र व्यावहारिक रुपमा देखापरेका समस्यालाई हटाउँदै जाने बताए । उनले समस्याहरुलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे ।
महासंघले निर्यात वृद्धिका लागि नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरेको छ ।
त्यसैगरी महासंघले उत्पादन लागत कम गर्न निर्यातजन्य उद्योगलाई लगानी गर्दा बैंक ब्याजदरमा ५ प्रतिशतको अनुदानका साथै बैंकहरुको कुल ऋण प्रवाहको ५ प्रतिशत निर्यातजन्य उद्योगमा अनिवार्य लगानीको व्यवस्था गर्न, निर्यात-आयात बैंक स्थापना गरी निर्यात उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातको व्यवस्था गर्नुपर्नेलगायत १७ वटा सुझाव दिएको छ ।