काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा ‘स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।
निजी क्षेत्रमा ‘स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधबार सुरु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला, समृद्ध नेपाल) परियोजना र महासंघबीच भएको सम्झौताबमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईंले गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठ थिइन् ।
कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगनदेव भट्टको पनि उपस्थिति थियो । तालिमको प्रमुख प्रशिक्षक आस्था भट्ट हुन् ।
महासंघ केन्द्रीय सदस्य श्रेषठले स्याहार अर्थतन्त्रमा अब सरकार र निजी क्षेत्र गम्भीर भएर यसको आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठुलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएकाले स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेको र यसलाई सहजीकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको जानकारी गराइन् ।
तीन दिन चल्ने तालिममा सुदूरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी ३० जनाको सहभागिता छ ।