काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले मंगलबार ७५ अंकको छलाङ मारेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक उच्च अंकले बढेको हो ।
आज नेप्से परिसूचक ७५.३३ अङ्क अर्थात् ३.०३ प्रतिशतले बढेर २५६३.४३ अंकमा उक्लिएको छ । आज ३१७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटक खरिद–बिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५.०६ र जीवन बिमा समूहको उपसूचक ४.४५ प्रतिशतले बढेको छ । ६ वटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
समृद्धि फाइनान्स, बोटलर्स नेपाल (बालाजु), माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वायरहाउजिङ कम्पनी र साहस ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सबैभन्दा धेरै सेयर मूल्य गणपति लघुवित्तको घटेको छ । गणपतिको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २४ करोड ६९ लाख २३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।