• Menu

आन्तरिक उत्पादन घटेपछि पूर्वी नाकाबाट ८५ करोडको कोदो आयात

नेपाल प्रफिट

२०८१ साउन ८, ०९:११

आन्तरिक उत्पादन घटेपछि पूर्वी नाकाबाट ८५ करोडको कोदो आयात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा बढेको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्यबराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।

आव २०७९/८० मा ५१ करोड ३१ लाख २० हजार मूल्यबराबरको १६ हजार ३५ मेट्रिक टनमात्र कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए ।

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी बिक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर, त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सोही अवधिमा फर्सी २१ करोड १४ लाख ८० हजारको १० हजार ५७४ मेट्रिक टन आयात भएको छ ।

उनका अनुसार गत एक वर्षमा एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्यबराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेँडा र २९ करोड ५७ लाख ४० हजार मूल्यबराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।

सोही अवधिमा ५७ करोड ७३ लाख ८० हजार मूल्यबराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, ३० करोड सात लाख ८० हजार मूल्यबराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र १५ करोड ६७ लाख २० हजार मूल्यबराबरको सात हजार ८३६ मेट्रिक टन सिमी आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए ।

पूर्वीनाकाबाट सोही अवधिमा १३ करोड आठ लाख ४० हजार मूल्यबराबरको ६९२ मेट्रिक टन प्याज, २५ करोड ६५ लाख ६० हजारबराबरको १२ हजार ८२८ मेट्रिक टन परवल, ६७ करोड ७० लाख मूल्यबराबरको तीन हजार ८३५ मेट्रिक टन घिरौला र ११ करोड १७ लाख मूल्यबराबरको पाँच हजार ५८५ मेट्रिक टन गाजर आयात भएको छ ।

त्यस्तै ३१ करोड ५० लाख मूल्यबराबरको एक हजार ५७५ मेट्रिक टन इस्कुस र तीन करोड ८० लाख ४० हजार रुपैयाँबराबरको एक हजार ९०२ मेट्रिक टन तरुल भारतबाट आयात भएको तथ्यांकले देखाउँछ ।

मधेसबाट हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा एक करोड ३५ लाख ८५ हजार मूल्यबराबरको फापर र चार करोड ६१ लाख ७६ हजार मूल्यबराबरको मकै (पशु दाना) आयात भएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा चार अर्ब ८७ करोड ६५ लाख १८ हजार रुपैयाँबराबरको ९८ हजार ३९४ मेट्रिक टन फलफूल तथा चामल, १७ करोड २८ लाख २४ हजारबराबरको सात हजार २०१ मेट्रिक टन र दलहन (गेडागुडी) दुई करोड ४० लाख ९६ हजार मूल्यको आयात भएको छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको किसानको गुनासो छ ।