काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले देश नेताहरुले नभई विचौलियाहरुले चलाउने खतरा बढेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विचौलियाले चलखेल गरेको र त्यसमा ओलीले विचौलियालाई साथ दिएको संकेत उनको छ ।
आफूभन्दा अघि अर्थमन्त्री भएका काँग्रस नेता डा. प्रकाशशरण महत र आफूले विचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए ।
‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिका अर्थमन्त्रीले कोसिस गर्नुभयो, मैले पनि सकिन, अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ । म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि विचौलियाले ?’ उनले भने ।
उनले प्रधानमन्त्रीसँग त्यसको जवाफ माग गरे । ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरुले त्याग गर्नुभएको छ । बलिदान गर्नुभएको छ । जेल पर्नुभएको छ । युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाइदिनुस् । पार्टीहरुले देश चलाइदिनुस् । विचौलियाले होइन,’ उनले भने ।
निवर्तमान अर्थमन्त्री पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भष्ट्राचारका मुद्दामा छानबिन र कारबाही अगाडि बढाएपछि कांग्रेस-एमाले मिलेको टिप्पणी गरे । उनले गिरिबन्धु ‘टि स्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको दाबी गरे ।
प्रतिपक्षमा रहँदा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेन्डा छाड्दैनौं भनेको चर्चा गर्दै उनले ‘अब के हुन्छ’ भन्नेमा कांग्रेसतर्फ पनि प्रश्न उठाइने बताए ।
‘कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाइल खोलेको छ, नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टि स्टेटसम्मका कुरा उठ्दै गर्दा नेपाली कांग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेन्डाहरु छाड्दैनौं भन्नुभएको छ । त्यसमा निश्चय पनि नेपाली कांग्रसलाई प्रश्न हुन्छ,’ उनले भने ।
उनले गिरिबन्धुको विषयमा विशेष फोकस भएर बोलेका छन् । ‘हिजो यही हाउसमा अपोजिसनमा हुँदा कांग्रेसका महामन्त्रीज्यूहरुले ‘गिरिबन्धु टि स्टेट, गिरिबन्धु टि स्टेट’ न्नुभएको थियो । यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन्,’ उनले थपे ।