काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेन्ट (सीए)हरुका लागि दरबन्दी सिर्जना गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दसौं परिषद्को पहिलो कार्यकालको अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण समारोहमा उनले यस सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
‘राज्यमा सम्बन्द्ध निकायमा सीएका लागि दरबन्दीको सिर्जना हुनुपर्ने यहाँहरुको मागका विषयमा मेरो सकारात्मक दृष्टिकोण छ, केही महिना लाग्ला तर यो मागलाई सार्थक तुल्याउनका लागि अर्थमन्त्रीका हैसियतमा मैले सार्थक पहल लिनेछु,’ उनले भने ।
उनले आइक्यान कुनै न कुनै रुपमा सरकारसँग जोडिएको संस्था भएको उल्लेख गर्दै संस्थाको प्रभाविकारितासँग मुलुकको लेखाप्रणाली जोडिएको बताए । सरकार यस संस्थासँग जीवन्त र घनिष्ठ सम्बन्ध कायम राख्ने विषयमा कटिबद्ध रहेको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्य परायणता मुलुकको उन्नतिको पूर्वसर्त रहेको भन्दै आर्थिक पारदर्शिताका लागि सरकार यस संस्थासँग सहकार्यका लागि तयार रहेको उल्लेख गरे ।
त्यस अवसरमा महालेखापरीक्षक तोयम रायले आइक्यानले महालेखापरीक्षकको कार्यालयलाई लामो समयदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि दुवै संस्थाका बीचमा सहकार्य जरुरी रहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आइक्यानसँग सहकार्य गरिरहेको उल्लेख गरे । संस्थाका नवनियुक्त अध्यक्ष प्रवीणकुमार झाले आफूले आफ्नो कार्यकालमा विभिन्न ६ वटा आयाममा काम केन्द्रित गरेको उल्लेख गरे । आर्टिफिसिएल इन्टेलिजेन्सको पनि यस क्षेत्रमा प्रयोग बढ्दै गएकाले आगामी दिनमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने आवश्यकता उनले औँल्याए ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले पब्लिक फाइनान्स म्यानेजमेन्ट (पीएफएम) सर्टिफिकेसन कोर्स उत्तीर्णहरुलाई प्रमाणपत्र वितरण गरे । साथै संस्थामा अमूल्य योगदान पुर्याउने नवौँ परिषद्का अध्यक्षहरुलाई प्रेसिडेन्ड मेडेलियनबाट पनि सम्मान गरे ।
अर्थमन्त्री पौडेलले उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार पनि प्रदान गरेका छन् । उक्त पुरस्कारबाट निजी क्षेत्रका बैंकहरुमा नबिल बैंकले गोल्ड, नेपाल एसबीआई बैंकले सिल्भर, सिद्धार्थ बैंकले ब्रोन्स र माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई सर्टिफिकेट अफ मेरिट प्रदान गरिएको छ ।
फाइनान्सियल सर्भिस क्षेत्र तर्फबाट मुक्तिनाथ विकास बैंकलाई गोल्ड, कामना सेवा विकास बैंकलाई सिल्भर, लुम्बिनी विकास बैंकलाई ब्रोन्ज पुरस्कार प्रदान गरिएको छ । साथै प्रभु क्यापिटल, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र साइन रेसुंगा डेभलपमेन्ट बैंकलाई सर्टिफिकेट अफ मेरिटबाट पुरस्कृत गरिएको छ ।
संस्थाले उत्पादनमूलक क्षेत्रबाट हिमालयन डिस्टिलरीलाई गोल्ड, बोटलर्स नेपाललाई सिल्भर, बोटलर्स नेपाल (तराई)लाई ब्रोन्ज र युनिलिभर नेपाल लिमिटेडलाई सर्टिफिकेट अफ मेरिट प्रदान गरेको छ । ऊर्जातर्फ बुटवल पावर कम्पनी र सेवामूलक क्षेत्रतर्फबाट ओरियन्टल होटल्स लिमिटेडले गोल्ड अवार्ड पाएका छन् ।