काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिनु अघिदेखि नै दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस सरकार बनाउने तयारीमा छन् ।
संसदीय अंकगणितअनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएकाले पनि दुवै दल ढुक्कसाथ सरकारमा क-कसलाई पठाउने भन्ने तयारीमा जुटेका हुन् ।
असार १७ गते राति नेकपा माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सहकार्य गर्ने सहमति गरेकै दिन प्रधानमन्त्री पद एमालेले पाउने समझदारी भएको थियो । ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदको लिखित समर्थन भइसकेको छ ।
हालसम्म सहमतिपत्र सार्वजनिक नगरिए पनि संविधान संशोधन र सत्ता सहकार्यमा समझदारी भएको विषय दुवै दलका नेताहरुले विभिन्न फोरममा सार्वजनिक गर्दै आएका छन् ।
सहमतिअनुसार एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिनेछन् । एमाले अध्यक्ष ओली दुई वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति उनीहरुबीच भएको छ ।
प्रदेश सरकारहरुमा तीन-तीन वटा सरकारको नेतृत्व गर्ने र मधेस प्रदेशमा मधेसकेन्द्रित दलकै नेतृत्व दिने सहमति उनीहरुले गरेका छन् ।
संविधान संशोधनलाई सत्ता समीकरणको एजेन्डा बनाएका दुवै दलले दुई तिहाइ पुर्याउन संसदका लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् ।
तर, मूलत: अहिले मन्दीमा रहेको अर्थतन्त्रका विषयमा बाक्लो बहस र छलफल भइरहेको परिप्रेक्ष्यमा संविधान संशोधन र अन्य मन्त्रालयभन्दा पनि अर्थ मन्त्रालयको नेतृत्व कसले पाउला भन्ने विषयले राजनीतिक वृत्त गरमागरम भइसकेको छ ।
एमाले अध्यक्ष ओलीले सचिवालय बैठकबाट यसअघि अवसर नपाएका र काम गर्न सक्नेलाई सरकारमा पठाउने निर्णय गराएका छन् । तर, कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउने भएकाले परिणाम दिनसक्ने व्यक्तिलाई सरकारमा पठाउनुपर्ने आवाज घनीभूत बनेको छ ।
यससँगै एमालेमा सचिवालय बैठकको निर्णयविपरीत सरकारमा पठाउने व्यक्तिहरुको नाम अघि सारिने सम्भावना प्रबल भएको छ । अर्थमन्त्रीमा उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई नै पठाउने गरी पार्टीभित्र छलफल अघि बढेको नेताहरुले बताएका छन् ।
अध्यक्ष ओलीले पनि पौडेललाई नै अर्थमन्त्री बनाउन चाहेका छन् । उनी यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका नेता हुन् । उनी सेयर बजारमैत्री पनि मानिन्छन् । उनी अर्थमन्त्री बन्ने चर्चा सुरु भएयता लगातार जसो सेयर बजार उकालो लागिरहेको छ ।
यसअघि उनले ओलीकै मन्त्रिपरिषद्मा २०७७ असोज २८ देखि २०७८ असार २८ सम्म अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । २०७९ को आम चुनावलगत्तै प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा उनी फेरि अर्थमन्त्री बने । तर, कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै उनी ६४ दिनमै बाहिरिनुपरेको थियो ।
एमालेबाट अर्थ मन्त्रालयको नेतृत्व लिन दामोदर भण्डारी र पदम गिरीले पनि कसरत गरिरहेका छन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका गिरीले २०७९ मा छोटो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने प्रचण्ड मन्त्रीमण्डलमा हालै कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनेका थिए ।
अध्यक्ष ओली भने गिरीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारीमा रहेको एक एमाले नेताले बताए ।
दामोदर भण्डारी पनि प्रचण्ड सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । उनले २०७९ पुसमा पनि छोटो समय सोही मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यस्तै उनी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए ।
कांग्रेस भने नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छ । रमेश लेखकले गृह सम्हाल्ने नेताहरुले बताएका छन् ।