काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए-२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरेका छन् ।
बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरुमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको छ ।
बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित उपाध्यक्षहरु र निर्देशकहरु सहभागी थिए । यस्तै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा लागि आएका थिए ।
उद्घाटन सत्रपछि तीन दिनसम्म बन्दसत्र चलेको थियो । बन्दसत्रमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र त्यसका लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा विकास साझेदार, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीबीच गहन छलफल भएको छ ।
आईडीए–२ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।
विश्व बैंकको दक्षिण एसिया क्षेत्रमै यो स्तरको कार्यक्रम भएको पहिलो हो । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । विश्व बैंकले सन् १९६० मा आईडीएको स्थापना गरेको थियो ।
आईडीएले विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । साथै यसले विकासका पछि परेका मुलुकहरुका लागि सहुलियतपूर्ण ऋण र अनुदान तथा बहुपक्षीय सहायता प्रदान गर्छ ।
आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । अर्थ मन्त्रालयले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण भएको जनाएको छ ।
बैठकपछि विश्व बैंकका उच्च अधिकारीहरूले काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायुलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न नौ आयोजनाको स्थलगत भ्रमण गर्नेछन् ।
बैठकको आयोजनाबाट नेपालले अन्तर्राष्ट्रिय रुपमा चिनाउन, विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई दिनुका साथै नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिलेको अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव उत्तरकुमार खत्रीले बताए ।
बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?
अर्थमन्त्री पुनले विश्वव्यापी विकास चुनौती सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरु सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए । दशकौंदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आईडीए मुलुकहरुका लागि बैठक उपलब्धिमुलक भएको उनको भनाइ छ ।
बैठकले संसारभरबाट गरिबी र अविकास अन्त्यका लागि जारी अभियानलाई निरन्तरता दिने संकल्प गरेकामा उनले धन्यवाद दिए । ‘गरिबी अन्त्य र दिगो विकासका लागि प्रतिबद्ध देशका लागि सहयोग र समर्थन जारी राख्ने काठमाडौँ भेलाको सामूहिक निर्णयका लागि आभार व्यक्त गर्छु,’ उनले भने, ‘तपाईंहरुले अविकसित मुलुकहरुका लागि आगामी दिनमा पनि बलियो विकास सहायता र अन्तर्राष्ट्रिय समर्थन दिने कुराको सुनिश्चितता गर्नुभएको छ ।’
बैठकका निष्कर्ष र रणनीतिहरू विश्व बैंक र अरु विकास सझेदारहरुबाट विकास वित्त प्राप्त गर्दै आएका आईडीए मुलुकहरु र ऋण दाता मुलुकहरुका लागि खुसीको विषय भएको मन्त्री पुनले बताए ।
आईडीए मुलुकहरुलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट माथि उठाएर बस्नलायक बनाउन बैठकले निकालेको निष्कर्ष प्रभावकारी हुने उनको विश्वास छ । उनले धेरै आईडीए मुलुकले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, स्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेको औंल्याए ।
उक्त अवस्थाको अन्त्यका लागि बाह्य सहयोग र लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको उनले बताए । अर्थमन्त्री पुनले आईडीए मुलुकका जनताका लागि विद्युत पहुँच, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा पोषणयुक्त खाद्यान्नमा जोड दिनुपर्ने उल्लेख गरे । ‘जलवायु परिवर्तन, लैंगिक असमानता, गरिबी निवारण जस्ता एजेन्डामा सामूहिक प्रयास र प्रतिबद्धता जरुरी छ,’ उनले भने ।