काठमाडौं । आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता पत्रमा सहवित्तीयकरणका बैंकहरू र प्रवर्धक कम्पनीले शुक्रबार हस्ताक्षर गरेका छन् ।
सम्झौतामा हाइड्रो सपोर्टका तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकका तर्फबाट सहवित्तीयकरणको नेतृत्वकर्ता नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरे ।
सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नविल बैंकले गरेको छ भने अन्य सहभागी बैंकहरूमा एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन् ।
निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहनेछ ।

सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये नविल बैंकको ३ अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको दुई-दुई अर्ब तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको एक-एक अर्ब रूपैयाँ रहनेछ ।
मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद-बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको छ । आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रुपैयाँ र वर्षामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुनेछ ।
कुल ४०७ गिगावाट विद्युत उत्पादनबाट वार्षिक २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुनेछ । हालसम्म आयोजना निर्माण तयारीका काम भइरहेका छन् ।