हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाबाट २० मेगावाट मात्र विद्युत् उत्पादन हुन थालेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक हजार ५३० मिटर गहिराइको पानीमा सञ्चालन हुने कुलेखानी जलासयको सतह घटेर एक हजार ४८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ ।
पानी नपरेकाले जलविद्युतको महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिए । विशेष गरी नदीको पानी कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तल–माथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ ।
समुद्री सतहबाट एक हजार ४८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उनको भनाइ छ । कुलेखानी जलविद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको उनले जानकारी दिए ।
प्रमुख भट्टका अनुसार सोमबारसम्म एक हजार ४८४.९८ मिटरसम्म मापन गरिएको थियो । गए राति पानी परेपछि मंगलबार बिहान थप पानी जम्मा भएको छ । उनका अनुसार २०५८ पछि यस वर्ष पानीको सतह धेरै घटेको हो । कुलेखानीबाट आपतकालीन् समयमा मात्रै बिजुली उत्पादन गरिने उनले बताए ।