• Menu

तराईमा निरन्तर बढ्दै तापक्रम, वीरगन्जका विद्यालय थप तीन दिन बन्द

नेपाल प्रफिट

२०८१ जेठ ३१, १३:०७

तराईमा निरन्तर बढ्दै तापक्रम, वीरगन्जका विद्यालय थप तीन दिन बन्द

पर्सा । अत्यधिक गर्मीले तराई मधेसको जनजीवन प्रभावित भएको छ । उच्च तापक्रम बढेपछि वीरगन्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महानगरले आज बिहीबारदेखि असार २ सम्म नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय गरेको हो ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको जानकारी दिए ।

महानगरका विद्यालयलाई बिहान १०:३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिइएको थियो । तर, उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि विद्यार्थी मुर्छित भएपछि तीन दिन गर्मी बिदा दिने निर्णय गरिएको उनले बताए ।

महानगरको शिक्षा समितिको २०८१ जेठ १४ को बैठकले जेठ १६ देखि १८ सम्म गर्मी बिदा दिएको थियो । महानगरमा ९२ सामुदायिक र १३८ निजी विद्यालय सञ्चालित छन् । सामुदायिकतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

वीरगन्जको अधिकतम तापक्रम बुधबार ३८.७ डिग्री सेल्सियस पुगेको थियो भने आज ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले गत मंगलबार विशेष बुलेटिन निकालेर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको जनाएको थियो ।