• Menu

आइएमई लिमिटेड २४औं वर्षमा, सामाजिक र आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता

नेपाल प्रफिट

२०८१ जेठ ३०, बुधबार २१:२६

आइएमई लिमिटेड २४औं वर्षमा, सामाजिक र आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता

काठमाडौँ । नेपालमा रेमिट्यान्सको पर्यायवाची बनेको ‘आइएमई’ स्थापनाको २३ वर्ष पूरा भएको छ । जेठ ३० गते स्थापनाको २३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गर्दा रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन आइएमई लिमिटेड सफल भएको छ ।

२४औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधबार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गरेको छ । ‘डिजिटल रुपान्तरणलाई अंगाल्दै’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सह-संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गरे ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्‍याउने कम्पनीको रूपमा आइएमईले दायित्व वहन गरिरहेको उनले बताए ।

रेमिट्यान्स सेवा रकमको औपचारिक आदानप्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्यलगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन्देशमार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने पनि उनले बताए ।

त्यसैगरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको जानकारी गराए ।

प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवाहरूको मध्यमबाट नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।

वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरूलगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।

स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २४औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।