काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक वातावरण बन्दै गएकाले नेपालमा लगानी गरेर नाफा लिन विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् ।
स्विट्जरल्यान्डको जेनेभामा जारी ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताए ।
जेनेभामा जारी सम्मेलनमा नेपालका रोजगारदाताको प्रतिनिधत्व गर्दै अध्यक्ष ढकालले नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा जोड दिए
उनले सामाजिक सुरक्षा, लैंगिक समानता र दिगो आयआर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतसँग १० हजार मेगावाट विद्युत खरिद सम्झौता भएको र बंगलादेशसँग पनि यसबारे छलफल भइरहेको उनले जानकारी गराए । अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे ।
त्यसैगरी भारत र चीनजस्ता धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनले बताए ।
अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योगलगायत उत्पादनमूलक क्षेत्रहरु नेपालमा लाभका क्षेत्र रहेको विश्वका लगानीकर्तालाई जानकारी गराए ।
लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अंगिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराए ।
सम्बोधनमा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आईओई) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।