• Menu

वाणिज्य बैंकको १० महिना : ‘प्रफिट’ ४८ अर्ब ६० करोड, आधा सात बैंकसँग, नविल र ग्लोबलको हिस्सा २० प्रतिशत

नेपाल प्रफिट

२०८१ जेठ ३०, बुधबार ०९:५८

वाणिज्य बैंकको १० महिना : ‘प्रफिट’ ४८ अर्ब ६० करोड, आधा सात बैंकसँग, नविल र ग्लोबलको हिस्सा २० प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुले १० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । चैतसम्म ४१ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेका बैंकहरुले वैशाखमा मात्र ८ अर्बभन्दा बढी नाफा थपेका हुन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल नाफाको आधा सात बैंकले कमाएका छन् । नविल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम कमर्सियल, एभरेस्ट, कृषि र स्ट्यान्डर्ड चार्टर्ड बैंकको मात्रै नाफा करिब २५ अर्ब रुपैयाँ छ ।

नबिल र ग्लोबल आईएमईको खुद नाफा हिस्सा नै १९.७१ प्रतिशत छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले १० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ कमाउँदा नविल र ग्लोबल आईएमईले मात्रै ९ अर्ब ५८ करोडभन्दा बढी कमाएका छन् ।

एनआईसी एसियासहित ११ बैंकको नाफा २ अर्बभन्दा माथि छ । केही महिना अघिसम्म नाफा बढी कमाउनेमा चार-पाँच नम्बरमा रहेको एनआईसी एसिया बैंक अहिले ११ नम्बरमा झरेको छ ।

सबैभन्दा बढी नविल बैंकले कमाएको छ । वैशाख मसान्तसम्ममा नविलले ५ अर्ब ४६ करोड कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आईएमईले १० महिनामा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब १९ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेका छन् । चैतसम्म बैंक वित्तीय संस्थाको नाफा ४४ अर्ब ६७ करोड रूपैयाँ थियो ।

गत आवको १० महिनाको तुलनामा भने अहिलेको नाफा करिब ९ अर्ब कम हो । गत आवको १० महिनामा बैंक वित्तीय संस्थाले ६२ अर्ब ६० करोड खुद नाफा कमाएका थिए ।