काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गरेका छन । मैदान निरीक्षणका क्रममा फाप्ला विकास समितिका अध्यक्ष सुवास शाहीले डीपीआर, ईआईएलगायतका विषयमा जानकारी गराएका छन् ।
शाहीले डीपीआर अहिले प्रक्रियामा रहेको र तीन महिनामा तयार हुने पनि बताए । उनले दुई वर्षअघि मात्र ४१ बिघा जग्गा फाप्ला विकास समितिको मातहतमा आएको पनि जानकारी दिए ।
प्रधानमन्त्रीको भारत भ्रमणमा फाप्ला क्रिकेट स्टेडियम निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो । डीपीआर तयार भएलगत्तै फाप्ला विकास समितिले परराष्ट्र मन्त्रालयमार्फत डीपीआरलगायतका विवरण भारत पठाउने तयारी गरेको छ । फाप्ला विकास समिति युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको छ ।
निरीक्षणलगत्तै फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठक बसेको थियो । जहाँ अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरियो । मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिई डीपीआर र ईआईएको काम समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् ।