ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आज मंगलबारदेखि बागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा सुरु भएको छ ।
मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला सुरुवातमात्रै भएको बताइन् । मेलाले रोजगारीको अवसरमात्रै होइन, करिअर काउन्सिलको काम पनि गर्ने धारणा राखिन् ।
मेलाले उद्यमी बन्न चाहनेका लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ । ‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट सुरु गर्दैछौं,’ उनले भनिन् । कुनै रोजगारीका लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्छ भन्ने विषयमा पनि छलफल गरिने उनले बताइन् ।
त्यस्तै, शिक्षामन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेसनल तालिमहरु सञ्चालन गर्न सकिने धारणा राखिन् । ‘अन्तर मन्त्रालय समन्वयमा हामी मुलुकभित्रै रोजगारी सिर्जना गर्न र स्वरोजगार बन्न युवालाई प्रेरित गर्न सक्छौं । सहकार्यका लागि पनि हामीले छलफल चलाइरहेका छौं,’ उनले भने ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए । ‘मेलाको उपलब्धि आजको भोलि नै नदेखिन सक्छ तर यसले दीर्घकालीन रुपमा सकारात्मक परिणाम देखाउने उनले बताए ।
त्यसैले आगामी दिनमा यो मेलालाई अभियानको रुपमा नै लैजानुपर्ने उनले बताए । त्यस्तै, मेलाले मुलुकभित्र केही हुन सक्दैन भनेर बिदेसिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । साथै मेलाले रोजगारदाताले श्रमिक पाएनौं भन्ने र श्रमिकले रोजगारी पाएनौं भन्ने गुनासोलाई सम्बोधन गर्ने लम्सालको भनाइ छ ।
त्यस्तै, मेलाको उद्घाटन समारोहमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले मन्त्रालयले मेला आयोजनाका लागि ललितपुर नै छनौट गरेकोमा खुसी व्यक्त गरे ।
दैनिक १५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भए पनि नेपाली युवालाई नेपाल भित्रै रोकेर राख्न सक्यो भने त्यसलाई ठूलो उपलब्धि रुपमा लिन सकिने उनले बताए ।
जेठ १७ देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आजदेखि सुरु भएको हो । मेला भोलिसम्म सञ्चालन हुनेछ ।
मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेका छन् । मेलामा निजी तथा सरकारी गरी ८० स्टल छन् ।