• Menu

सीजी फुड्स नेपालद्वारा क्रिकेटको विकासका लागि ६० लाख सहयोग घोषणा

नेपाल प्रफिट

२०८१ जेठ २८, १९:५७

सीजी फुड्स नेपालद्वारा क्रिकेटको विकासका लागि ६० लाख सहयोग घोषणा

काठमाडौं । विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्रान्ड वाइ वाइ चाउचाउले नेपाली क्रिकेट टिमको प्रोत्साहन र समर्थनस्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

सीजी फुड्स नेपालले नेपाल क्रिकेट संघ क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो । टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

साथै,  वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको छ ।

लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ ।

पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदिप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले क्रिकेटको विकासका लागि वाइ वाइ सधैं समर्पित रहने बताए । ‘आजभन्दा २० वर्षअघि हामीले पुरूष अन्डर–१९ मा लगानी गर्‍यौँ, जसको परिणाम अहिले नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपको मैदानमा खेलिरहेको छ । अब महिला अन्डर–१९ मा लगानी गर्ने समय भएको छ । यसको नतिजा देशले छिट्टै पाउनेछ,’ उनले भने ।

प्रबन्ध निर्देशक चौधरीले नेपालमा उत्पादित वाइ वाइ अमेरिका, युरोप, जापान, अस्ट्रेलियालगायत विश्वका ४० देशमा उपलब्ध रहेको जानकारी दिए । वाइ वाइले ती सबै देशको गुणस्तर मापदण्ड पूरा गरेकाले ग्लोबल ब्रान्ड बन्न सफल भएको र यस सम्बन्धमा थप व्याख्या आवश्यक नभएको उनले टिप्पणी गरे ।

क्यानका सचिव एवं नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले आफू वाइ वाइको जर्सी लगाएर यू–१९ विश्वकपमा खेलेको स्मरण गरे । नेपालको क्रिकेटको विकासका लागि वाइ वाइको योगदान अतुलनीय रहेको उनले बताए ।

‘नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपमा खेलिरहेको यस गौरवपूर्ण अवसरमा वाइ वाइले महिला यू–१९ र नेपालको क्रिकेट विकासका लागि गरेको यो लगानी निकै महत्वपूर्ण छ,’ उनले भने ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनबापत १ हजार उपहार घोषणा गरेको छ ।

त्यस्तै, प्रत्येक चौकाबापत ८ हजार, प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।