• Menu

विश्वकपका दुई खेल खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

नेपाल प्रफिट

२०८१ जेठ २८, ११:१७

विश्वकपका दुई खेल खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

काठमाडौँ । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज सोमबार विज्ञप्ति जारी गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरेको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् ।

क्यानले जेठ २ देखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो । उच्च अदालत पाटनको फैसलाबमोजिम बलात्कार मुद्दामा सफाइ पाएपछि क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्वन फुकुवा गरेको हो ।

युवा बलर प्रतिश जीसीलाई ‘ट्राभलिङ रिजर्भ’ राख्दै सन्दीपलाई नेपाली टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । संघले पूर्वघोषित टिमबाट युवा बलर जीसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसामु पेस गरेको क्यानको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यही जेठ ३ देखि नै सन्दीप नेपालको अफिसियल टिममा रहेको र अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा सन्दीपको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ ।’

विश्वकप क्रिकेट २०२४ का खेल अमेरिका र वेस्ट इन्डिजमा भइरहेका छन् । अमेरिकामा भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो दोस्रो खेल जेठ ३० गते अमेरिकामै श्रीलंकासँग खेल्नेछ । उक्त खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जानेछ । त्यहाँ नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ ।