• Menu

अधिकार प्रयोगमा हिच्किचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर बन्ने गृहमन्त्रीको चेतावनी

नेपाल प्रफिट

२०८१ जेठ २७, १५:४६

अधिकार प्रयोगमा हिच्किचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर बन्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसारपसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

विराटनगरमा आयतबार आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तर्क्रियामा गृहमन्त्री लामिछानेले लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्बद्ध अधिकारीकै तदारुकता अभावमा प्रतिफल प्राप्त नभएको बताए ।

सबै कार्यालयका प्रमुखले कानुनले दिएको अधिकारमात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने भन्दै उनले कार्यशैलीको निर्मम समीक्षा गर्न आग्रह गरे । कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरेमात्र पनि प्रतिफल आउने उनको भनाइ छ ।

‘भन्सारमा कसरी अवैध काम भइरहेको छ ? गैरव्यावसायिक काममा को-को संलग्न छन् ? उनीहरु कानुनको कुन कमजोर पक्षको फाइदा उठाइरहेका छन् ?’ अधिकारीहरुलाई प्रश्न गर्दै मन्त्री लामिछानेले भने, ‘सबै कुरा जान्दा-जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस् ।’

जिल्लामा अवैध गतिविधि भइरहने तर नियन्त्रणको कानुनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री लामिछानेले अधिकार प्रयोगमा हिच्किचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी दिए ।

खुला सीमाका कारण अवैध बाटोबाट विदेशी उत्पादन भित्रिँदा नेपाली उत्पादनले बजार नपाउने समस्याप्रति गम्भीर बन्न र बजार अनुगमन बढाएर आन्तरिक उत्पादनलाई प्रोत्साहनको वातावरण बनाउन पनि सुरक्षा अधिकारीलाई उनले निर्देशन दिए ।