• Menu

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतास आउने चेतावनी

नेपाल प्रफिट

२०८१ जेठ २७, १०:४३

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतास आउने चेतावनी

काठमाडौँ । हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा ती प्रदेशका बाँकी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

त्यसैगरी आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा ती प्रदेशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।