• Menu

लुम्बिनी प्रदेशको श्रमाधान रोजगार मेला ८ हजारले गरे अवलोकन, एक हजार जनाको रोजगारी सुनिश्चित

नेपाल प्रफिट

२०८१ जेठ २५, शुक्रबार १०:२६

लुम्बिनी प्रदेशको श्रमाधान रोजगार मेला ८ हजारले गरे अवलोकन, एक हजार जनाको रोजगारी सुनिश्चित

रुपन्देही । लुम्बिनी प्रदेशमा आयोजित दुई दिने श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबार र बिहीबार चलेको मेलाको आठ हजारभन्दा धेरैले अवलोकन गरेका छन् ।

मेलामा आवेदन दिएकामध्ये करिब एक हजार जनाका लागि रोजगारी सुनिश्चित भएको लुम्बिनी प्रदेश मेलाका संयोजक एजाज आलमले जानकारी दिए । मेलामा रोजगारी सिर्जना, सीपमूलक तालिम, जनशक्ति पहिचान, युवा सशक्तीकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन सहयोग पुर्‍याउने खालका कार्यक्रम पनि गरिएको थियो ।

मेलामा विभिन्न उद्योग प्रतिष्ठान, सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)का गरी ४१ स्टल राखिएका थिए ।

प्रदेश संयोजक आलमले मेलालाई रोजगारदाता र श्रमिकलाई एकै ठाउँमा जोड्ने माध्यमको रूपमा लिइएको बताए । सरकारको सुरूवाती कार्यक्रम भएकाले यसलाई जिल्ला तहसम्म विस्तार गर्नसके अझै प्रभावकारी हुने उनको विश्वास छ ।

लुम्बिनी प्रदेश श्रम तथा रोजगार कार्यालयका प्रमुख कृष्णप्रसाद खनालले रोजगारी खोज्ने युवा, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा जोड्ने कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्न सहयोग पुगेको बताए । मेलामा बेरोजगार युवाको ज्ञान, सीप र क्षमताका आधारमा विवरण संकलन गरिएको छ ।

लुम्बिनी प्रदेशको श्रमाधान रोजगार मेलाको संयोजन नेपाल उद्योग परिसंघले गरेको थियो भने सह–आयोजकको रूपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशलगायत रहेका थिए ।

श्रमाधान रोजगार मेला जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि सुरु भएको हो । कोशी प्रदेशमा जेठ १७ र १८, मधेस प्रदेशमा १९ र २०, गण्डकी प्रदेशमा जेठ २१ र २२ तथा लुम्बिनी प्रदेशमा जेठ २३ र २४ गते भएको छ ।

कर्णाली प्रदेशको वीरेन्द्रनगरमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुने मेला बागमती प्रदेशको ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन भएपछि सम्पन्न हुनेछ ।