• Menu

कर्णाली प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा, शुक्रबार सुरु हुने मेलाको श्रममन्त्रीले उद्घाटन गर्ने

नेपाल प्रफिट

२०८१ जेठ २४, १२:४८

कर्णाली प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा, शुक्रबार सुरु हुने मेलाको श्रममन्त्रीले उद्घाटन गर्ने

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा मेला सुरु हुँदै छ ।

मेलाको विषयमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए ।

‘मेलाले रोजगारीका अवसर सिर्जना गर्ने, सीप विकास प्रवर्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तीकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

पत्रकार सम्मेलनमा नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकताअनुसार श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनको विश्वास छ ।

‘वर्षौंदेखि हामी हरेक कुराका लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ तर अबका दिनमा नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने ।

त्यस्तै, कमर्सका अध्यक्ष न्यौपानेले नेपाल चेम्बर अफ कमर्सको समन्वयमा ११० जनालाई रोजगारी अवसर प्रदान गरिने बताए । ‘सिद्धार्थ बिजनेस ग्रुपले ६० जना, नेपाल टपले ५० र अग्नि ग्रुपले ५० जना श्रमिकको माग गरेका छन्,’ उनले भने । यसैगरी मेला अवधिमा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर प्रदान हुनेछ ।

श्रम कार्यलय सुर्खेतका कार्यालय प्रमुख श्रीशमशेर रानाले मेलाको तयारी पूरा भएको बताए । मेलामा ४० वटा निजी क्षेत्रका स्टल रहने छन् । जसमध्ये ३४ स्टल बुक भइसकेक छन् भने बेलुकासम्ममा अन्य स्टल पनि बुक हुने अपेक्षा रहेको उनले बताए ।

मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्ने कार्यक्रम छ ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह–आयोजकको रुपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

मेलामा मध्याह्न १२ बजेदेखि विभिन्न कार्यशाला सञ्चालन हुनेछन् । सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारी विषयक कार्यशालाहरु सञ्चालन हुनेछन् ।

साथै, बागिना एवं लोकदोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ । हुड्के नाच, झ्याउरे नाच र देउडा समूहको प्रस्तुति रहनेछ ।

जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा दुई–दुई दिन सञ्चालन भइरहेको छ । कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ ।

मेलामा नेपाल स्काउट एवं कोपिला भ्याली समाजका स्वयंसेवकहरु, सुरक्षा निकायहरु, आईएलओ, स्विस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैंकर्स एसोसिएसन, नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्र, स्थानीय तहहरु, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सी एसोसिएसन एफ नेपाल, नेपाल माउन्टेनियरिङ एसोसिएसन, सेभ द चिल्ड्रेन, वर्ल्डलिंक कम्युनिकेसन र एभरेस्ट नेटको पनि सहभागिता हुनेछ ।