• Menu

विश्वस्तरीय स्पिरिट उत्पादनमा नेपाल डिस्टिलरिजलाई प्रतिष्ठित आईडब्लूएससी तीन पदक प्राप्त

नेपाल प्रफिट

२०८१ जेठ २४, ११:४२

विश्वस्तरीय स्पिरिट उत्पादनमा नेपाल डिस्टिलरिजलाई प्रतिष्ठित आईडब्लूएससी तीन पदक प्राप्त

काठमाडौं । नेपालको पहिलो र अग्रणी डिस्टिलरी द नेपाल डिस्टिलरिज प्रालिले स्पिरिट उत्पादनमा विश्वव्यापी स्तर र परिचय कायम गर्दै ३ प्रतिष्ठित पदक (मेडल) हासिल गरेको छ ।

‘इन्टरनेसनल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ अवार्ड २०२४ डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर (रजत) र दुई ब्रन्ज (काँस्य) मेडल प्राप्त गरेको हो ।

‘आईडब्लूएससी’ अवार्ड एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ ।

द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकरी ट्रिपल एक्स रम’ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको छ । मौलिक नेपाली स्वादसहितको ‘खुकरी स्पाइस्ड रम’लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ । साथै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ ।

‘आईडब्लूएससी’को नौ-सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेस्डर इयान बरेल पनि सहभागी थिए । उनी हाल नेपालमा खुकुरी रम उत्पादन-सिल्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम-संस्कृतिका निम्ति प्रवर्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन् ।

अवार्ड प्राप्त गरेपछि उत्साहित हुँदै द नेपाल डिस्टिलरिज प्रालिका महाप्रबन्धक सुभास लामिछानेले भने, ‘द नेपाल डिस्टिलरिजको स्थापनाकालदेखि नै हामी प्रिमियम स्पिरिट उत्पादनका लागि उच्चकोटीको सामग्री, उच्चस्तरको प्रक्रिया, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन-सिल्पको निरन्तर उपयोगमा समर्पित छौँ ।’

प्रतिष्ठित अवार्डले कम्पनीको लगाव र कुशलतालाई मान्यता दिएको तथा विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको उनले बताए । ‘यसले हामीलाई उत्साहित त बनाएको छ नै विश्वस्तरको स्पिरिट उत्पादन गर्ने हाम्रो भिजनमा दृढ रहन अझै प्रेरणा दिएको छ,’ उनले भने, ‘हामी हाम्रो विश्वभरका सम्मानित ग्राहकमाझ यो नयाँ उपलब्धlको खुसीसहित आभार व्यक्त गर्न चाहन्छौँ, जसको निरन्तर साथ र दोहोरो प्रतिक्रिया हाम्रो उत्पादनको सफलताको लागि अपरिहार्य थियो ।’

सन् १९५९ मा पहिलो पटक उत्पादन भएको खुकरी ट्रिपल एक्स रमले आफूलाई ‘ओरिजिनल हिमालयन रम’को रूपमा स्थापित गरेको छ । उपभोक्तामाझ स्वादको लागि लोकप्रियता पाउनुका साथै खुकुरी ट्रिपल एक्स रम हरेक पल, उत्सव र कथाको एक रोचक हिस्साको रूपमा रहिआएको जनाएको छ ।

सन् २००८ मा सार्वजनिक गरिएको ‘खुकरी स्पाइस्ड रम’ सांस्कृतिक उत्सवलगायतको अवसरमा उत्कृष्ट रोजाइ बनेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ मा ‘न्युड सुपेरियर भोड्का’ सार्वजनिक गरिएको थियो, जुन आफ्नो ‘बोल्डनेस’, ‘ओरिजिनालिटी’ तथा ‘कन्फिडेन्स’मा विश्वास गर्ने युवा जमात र नयाँ पुस्तामाझ रोजाइको रूपमा स्थापित भएको कम्पनीको दाबी छ ।

द नेपाल डिस्टिलरिजले ६ दशकदेखि नेपाली मदिरा उद्योगमा ‘डोमेस्टिक स्पिरिट’ खण्डको बजारको मुख्य हिस्सा ओगट्दै आएको छ । नेपाल बाहेक अन्तर्राष्ट्रिय माग र मान्यतासहित हाल विश्वका विभिन्न देशहरूमा उत्पादनहरू वितरण गर्छ ।

‘आईडब्लूएससी’ अवार्ड २०२४ को जितले डिस्टिलरीको उत्कृष्टता र गुणस्तरमा सम्झौताहीन  प्रतिबद्धता पुन: पुष्टि भएको छ । द नेपाल डिस्टिलरिजले विश्वभरका पेय(स्पिरिट) पारखीहरूलाई डिस्टिलरिजद्वारा उत्पादित उत्कृष्ट नेपाली स्पिरिटहरूको आनन्द लिन आह्वान गरेको छ ।