ललितपुर । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सका लागि सोरुम स्थापना गरेको छ । त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्प चीनको डोफे अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपश्चात कम्पनीले इलेक्ट्रिक भेहिकल आयात गरी बिक्री–वितरण सुरु गरेको हो ।
डोफे अटोमोबाइल कम्पनी चाइनाका तीन ठूला गाडी निर्मातामध्येको एक रहेको र कम्पनीका उत्पादन विश्वका ६० देशमा बिक्री हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिट क्षमताका डोफे इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताका कार्गो भ्यान बिक्री सुरु गरेको छ ।
बिजुली गाडीको प्रवर्धनमार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभका लागि कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रालिले लिएको जनाएको छ ।
११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमी रेन्ज प्रदान गर्छ । त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमीको रेन्ज प्रदान गर्दछ । डोफेका सबै इलेक्ट्रिक भ्यानमा सीएटीएल ब्याट्री जडित छन् ।
कम्पनीले उक्त रेन्जहरु ४० किमी प्रतिघण्टाको गतिमा गाडी चलाए प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेन्ज परीक्षण गर्दा २५० किमीको रेन्ज सजिलै पाइने जनाएको छ ।
त्रिवेणी मोटोकर्प प्रालिले डोफे इलेक्ट्रिक भ्यानहरु नेपालभर बिक्री गर्न डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ । सबै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकलाई चार्जिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ स्टेसनहरु आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकताअनुसार चार्जिङ स्टेसनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।
त्रिवेणी मोटोकर्पले बिर्तामोडमा सहारा अटोमोबाइल्स कम्पनी प्रालि, इटहरीमा इस्टर्न मोटर्स प्रालि, जनकपुर तथा वीरगन्जमा नारायणी अटोकर्प प्रालि, पोखरामा अटोवेज प्रालि, धनगढीमा प्राप्ति मोटर्स प्रालि, नारायणघाटमा स्मार्ट अटो प्रालि, ललितपुरमा स्मार्ट अटो प्रालि र भक्तपुरमा जीईभी नेपाल प्रालिमार्फत आफ्ना गाडीहरुको बजारीकरण गरिने जनाएको छ ।
त्रिवेणी मोटोकर्पले बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरेको र आवश्यक पार्ट्सको व्यवस्था पनि गरिसकेको जनाएको छ ।
यसबाट बिक्रीपछिको सेवालाई सहज ढंगले सञ्चालन गर्न प्रशिक्षित एवं अनुभवी सर्भिस टिमको पनि व्यवस्था गरिसकेकाले ग्राहकले ढुक्क सँग डोफे गाडी छनौट गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले सर्भिससम्बन्धी व्यवस्थाको निरीक्षण तथा भ्रमण गर्न पनि ग्राहकसँग अनुरोध गरेको छ ।