• Menu

गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न, ५ हजारभन्दा बढीले गरे अवलोकन

नेपाल प्रफिट

२०८१ जेठ २२, १९:५५

गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न, ५ हजारभन्दा बढीले गरे अवलोकन

कास्की । गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा दुई दिन चलेको मेलाको ५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरको आयोजनामा आयोजित मेलामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सरोकारवालाको सहभागिता थियो ।

मेलालाई होटल संघ नेपाल (हान) ले संयोजन गरेको थियो भने सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका सरोकारवाला संस्था थिए ।

मेलामा विभिन्न ४२ स्टल राखिएका थिए । मेलाबाट रोजगारीका लागि पाँच सयभन्दा बढीले आवेदन दिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगरपालिका, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघलगायतका विभिन्न स्टल थिए ।

मेलामा विभिन्न क्षेत्रबाट सहयोग गर्ने तथा योगदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेला भव्यताका साथ सम्पन्न भएको बताए । मेलाले रोजगारी दिने र रोजगारी खोज्नेबीच पुलको काम गरेको र मेलाको उद्देश्य पूरा भएको बताए ।

मेलामा रोजगारीका लागि फाराम भरेकाहरुलाई पछि सम्बन्धित कम्पनीले बोलाउनेछन् । सोही आधारमा उनीहरुले रोजगारी पाउने सम्बन्धित कम्पनीहरुले जनाएका छन् । विभिन्न कम्पनीले ३५० भन्दा बढी क्षेत्रमा कर्मचारी माग गरेका थिए, जसमा एक हजार तीन सयभन्दा बढीले आवेदन दिएका थिए ।

मेलामा विभिन्न विषयमा ६ वटा श्रमाधान संवाद कार्यक्रम राखिएको थियो । मेलामा पहिलो दिन श्रम आप्रवासन : कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसर तथा अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद आयोजना गरिएको थियो ।

त्यस्तै दोस्रो दिन शिक्षा र रोजगारी बीचको सेतु : कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो तथा श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद आयोजना गरिएको थियो ।

श्रममन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मन्त्री अर्यालले मेलाले तत्कालै रोजगारी दिने नभई एउटा अभियानको रुपमा अघि बढेको बताएका थिए ।

आगामी वर्ष तीनै तहका सरकार मिलेर एकैपटक मेला गर्ने र त्यो निकै प्रभावकारी हुनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ थियो ।

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा पुगेर सकिनेछ । मेला विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबीच देखिने गरेको खाडल पुर्न महत्वपूर्ण हुने श्रम मन्त्रालयका उपसचिव तथा गण्डकी प्रदेश मेला संयोजक शारदा भण्डारीले बताइन् ।