काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज मंगलबार राति नेदरल्यान्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो ।
काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (यूएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
नेपालले दोस्रोपटक टी-२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्यान्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्यान्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी-२० शृंखलामा नेदरल्यान्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।
विश्वकपअन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी रंगशालामा आज राति हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छ । नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्यान्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएकाले पहिलो खेलका लागि नेपाली टोली तयारी अवस्थामा रहेको बताए । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको छ ।
त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुल्सन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् ।
विजेता टोलीलाई २४ लाख ५० हजार डलर पुरस्कार
अमेरिका र वेस्टइन्डिजमा चालु टी-२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् ।
त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउने आयोजकले जनाएको छ ।
विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन् । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
नेपाल र नेदरल्यान्डबीचको खेल नेपाली समयानुसार आज राति ९:३० बजे हुनेछ । समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरिसकेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना प्रदान गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको तथा आफ्नो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आएको बताए ।