• Menu

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था बढ्दै गएको छ : श्रममन्त्री

नेपाल प्रफिट

२०८१ जेठ २१, १३:०५

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था बढ्दै गएको छ : श्रममन्त्री

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रमा रोजगारीको समस्या निकै बढिरहेको बताएका छन् । नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने अवस्था रहेको बताए ।

गण्डकी प्रदेशको पोखरामा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा मन्त्री अर्यालले रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने बाध्यता नेपालमा रहेको उनको भनाइ छ ।

‘श्रम खोज्ने ठूलो संख्या छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने समस्या छ । यो समस्या निकै ठूलो छ । यस्तो खालको समस्याको अन्त्य कसरी गर्न सकिन्छ भनेर हामीले निकै छलफल गर्‍यौं । त्यही क्रममा बजेट नभए पनि श्रमाधान रोजगार मेलाको अवधारणा ल्याएका हौं,’ मन्त्री अर्यालले भने ।

श्रमाधान रोजगार मेलाले कति जनालाई तुरुन्तै रोजगारी दिन्छ भन्ने महत्वपूर्ण नरहेको उनको भनाइ छ । यो एक खालको सुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने बताए ।

यो वर्ष एकदमै हतारमा बजेट नै नभएको अवस्थामा कार्यक्रम गरेकाले संयुक्त कार्यक्रम गर्न कहीँ कतै चुकेको उनको भनाइ छ । आगामी दिनमा संयुक्त रुपमा यस्ता कार्यक्रम गर्न तीनवटै सरकारले मिलेर प्रदेशमा मात्र सीमित नरहेर पालिकास्तरमा नै पुगेर कार्यक्रम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

दुईदिने मेलाले वैदेशिक रोजगारीमा जानेहरुलाई समेत धेरै जानकारी मिल्ने उनको भनाइ छ ।