काठमाडौं । करका दर हेरफेरमा असन्तुष्टि जनाउँदै आएका उद्योगी व्यवसायी आफूहरुलाई अन्याय भएको भन्दै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । उद्योगी व्यवसायीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर करका दर हेरफेरले अन्याय भएको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् ।
जवाफमा प्रधानमन्त्रीले करको दरमा भएको हेरफेरबारे आवश्यक संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको जवाफ दिएका छन् । व्यवसायीलाई उनले करको दर हेरफेर भएको विषयमा आफू जानकार रहेको र अर्थमन्त्री वर्षमान पुनलाई व्यवसायीमाथि अन्याय भएको हो भने फिर्ता लिन निर्देशन दिएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीसमक्ष व्यवसायीले खाद्यान्नमा भन्सार बिन्दुमै १० प्रतिशत अग्रिम आयकर लिने तथा स्पन्ज आइरनमा २.५ प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था न्यायोचित नभएको गुनासो गरेका थिए ।
प्रधानमन्त्री भेट्न नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका कोशी प्रदेश अध्यक्ष पवन शारडा, विष्णु न्यौपानेलगायतका व्यवसायी पुगेका थिए ।