• Menu

कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन

नेपाल प्रफिट

२०८१ जेठ २१, १०:३९

कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन

ललितपुर । कान्तिलोकपथमा आज सोमबारदेखि पूर्णरुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका बन्द गरिएको लोकमार्ग आजदेखि खुल गरिएको हो ।

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए । ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको र काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको उनले बताए ।

‘ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ, बहुवर्षीय टेन्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ । बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ,’ उनले भने ।

वैशाख १५ देखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुंगाले काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ देखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ ।

विगतका सरकारले यो सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको लम्बाइ ९२ किलोमिटर हो ।

यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमी सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयवासीको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारे निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैंसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै छ ।