काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा ‘श्रमाधान रोजगार मेला’ डिजाइन गरेको छ ।
नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो ।
मधेस प्रदेशमा जेठ १९ र २० गते हुने मेलाको बारेमा जानकारी दिने उद्देश्यले बिहीबार जनकपुरधाम उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
मधेस प्रदेशमा मेलाको आयोजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा गर्दै छन् । सहआयोजक नेपाल उद्योग परिसंघ रहेको छ ।
जनकपुरधाममा दुई दिन चल्ने मेलाको उद्घाटन श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नेछन् ।
पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए ।
त्यस्तै, मेलाले रोजगारी खोज्नेहरू, रोजगारदाताहरू र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । सबै सरोकारवालालाई मेलामा सक्रिय सहभागिताका लागि उनले आग्रह गरे ।
श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकमा उत्साह थपिएको बताए ।
मेलामा सहभागिताका लागि ३५ स्टल रहनेछन् । ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले जानकारी गराए ।
नेपाल उद्योग परिसंघका मधेस प्रदेश संयोजक प्रमोद शाहले मेलाको उद्देश्य देशमै रोजगारी उपलब्ध गराउने रहेको बताए । श्रमबजारको आवश्यकताअनुसार दक्ष जनशक्ति नभएको उनको भनाइ छ ।
मेला आज बिहीबार गते कोशी प्रदेशको विराटनगरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै सुरू भइसकेको छ । यो मेला जेठ ३० सम्म सातै प्रदेशमा सञ्चालन हुनेछ ।