• Menu

लगानीको वातावरण बनाउन सकेमात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुनेछन् : चन्द्र ढकाल

नेपाल प्रफिट

२०८१ जेठ १७, ११:४८

लगानीको वातावरण बनाउन सकेमात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुनेछन् : चन्द्र ढकाल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बनाउन सकेमात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाका अवसरमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सके रोजगारीका प्रशस्त अवसर सिर्जना हुने र मेलाले सार्थकता पाउने बताएका हुन् ।

रोजगार मेला रोजगारदाता र रोजगारीका खोजीमा रहेका व्यक्तिको मिलनविन्दु हुने उनको विश्वास छ । अध्यक्ष ढकालले रोजगार मेलामा आयोजकका रुपमा सहभागी हुन पाउनु निजी क्षेत्रका लागि गौरवको विषय भएका बताए ।

लगानी तथा रोजगारी बढाउनका लागि निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भनेर महासंघले दिएको सुझावलाई सरकारले गम्भीर रुपमा लिएको भन्दै उनले खुसी व्यक्त गरे । ‘आर्थिक समृद्धिका सवालमा सबै दल एक ठाउँमा आउनुपर्छ भन्ने हाम्रो मागलाई प्रधानमन्त्रीज्यूले सुन्नुभयो, कानुनहरु परिवर्तन भए,’ उनले भने, ‘अब सरकारले लगानी वृद्धिमा केन्द्रित हुनुपर्छ ।’