• Menu

बजेटले निजी क्षेत्रका माग सम्बोधन गर्‍यो, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ जेठ १५, १८:४२

बजेटले निजी क्षेत्रका माग सम्बोधन गर्‍यो, ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रका माग सम्बोधन गरेको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८१ को बजेटले निजी क्षेत्रले उठाएका महत्वपूर्ण माग सम्बोधन गरेको बताएका हुन् ।

महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको र सोही अनुरुप नयाँ चरणको सुधार र आयोग बन्ने भएको उनले बताएका छन् । त्यस्तै सुधार वर्ष घोषणा भएकोमा पनि उनले खुसी व्यक्त गरे ।

‘महासंघले प्रवर्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई बजेटले प्रवर्धन गर्ने भनेको छ,’ ढकालले भने, ‘त्यस्तै कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, वैवाहिक पर्यटन र हिल स्टेसन विकास गर्ने विषय आएका छन्, सूचना प्रविधि र स्टार्ट अपमा केही सहुलियत र विस्तारका योजना छन् । यी पनि हामी उठाइरहेका माग हुन् ।’

महासंघको सधैंको मागका रुपमा रहेको निजी क्षेत्रको प्रवर्धनलाई बजेटले पहिलो प्राथमिकतामा समेटेकोमा उनले खुसी व्यक्त गरेका छन् । ‘यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ,’ उनले भने ।

राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने अध्यक्ष ढकालले बताए ।