• Menu

पर्यटकको प्रतिदिन खर्च १२५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य, १८२ पुग्यो पाँचतारे होटलको संख्या

नेपाल प्रफिट

२०८१ जेठ १३, २०:५३

पर्यटकको प्रतिदिन खर्च १२५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य, १८२ पुग्यो पाँचतारे होटलको संख्या

काठमाडौँ । सरकारले पर्यटन प्रवर्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सरकारले आगामी १० वर्षमा प्रतिपर्यटक खर्च १२५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिइएको हो ।

सरकराले पर्यटन प्रवर्धनका लागि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाइएको छ । सन् २०२३ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलरमात्र छ ।

त्यस्तै, सन् २०२२ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर थियो । विदेशी पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा पनि वृद्धि भएको छ ।

सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा सीमान्त वृद्धि भएको छ । यस अवधिमा पर्यटकको औसत बसाइ १३.२ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर छ ।

सन् २०२२ मा पर्यटकको बसाइ अवधि औसत १३.१ दिन थियो । सन् २०२१ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर थियो ।

आर्थिक सर्वेक्षणअनुसार विशिष्ट प्रकृतिका पर्यटकीय गन्तव्य र उपजका कारण नेपाल विश्वकै प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको छ । भूकम्पबाट क्षतिग्रस्त अधिकांश सांस्कृतिक एवं पर्यटकीय सम्पदाको पुनः निर्माण सम्पन्न हुनाका साथै नयाँ पर्यटकीय गन्तव्यको समेत विकास हुँदै गएको छ । दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।

कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा आइपुगेको छ  । पर्यटन क्षेत्रले गति लिँदै गएसँगै होटल व्यवसाय चलायमान हुँदै गएका छन् भने पर्यटकबाट प्राप्त हुने आम्दानी उल्लेख्य बढेको छ ।

पछिल्लो दशक (२०१४–२०२३) मा भूकम्प र कोभिड–१९ महामारीको बाबजुद ६६ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दशकमा प्रतिवर्ष औसत पर्यटक आगमन ६ लाख ६१ हजार छ ।

विदेशी पर्यटक बढे

विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । आर्थिक सर्वेक्षणअनुसार स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०२२ मा पर्यटक आगमनमा वृद्धि भई ६ लाख १४ हजार ८६९ पुगेकामा सन् २०२३ मा यस्तो संख्या ६५.० प्रतिशतले बढेर १० लाख १४ हजार ८८२ पुगेको छ ।

सन् २०२४ को मार्चसम्म तीन महिनाको अवधिमा पर्यटक आगमन सन् २०२३ को मार्चसम्मको तुलनामा ३३.८ प्रतिशतले वृद्धि भई तीन लाख चार हजार ६९३ पुगेको छ ।

सन् २०२३ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट संकलन भएको भ्रमण आय सन् २०२२ को ४६ अर्ब ७६ करोडको तुलनामा ४५.६ प्रतिशतले वृद्धि भई ६८ अर्ब सात करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ३९ करोड पुगेको छ ।

भ्रमण आयको तुलनामा भ्रमण खर्च प्रायः उच्च रहँदै आएको छ । पछिल्लो दशकमा आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७६/७७ बाहेक अन्य आर्थिक वर्ष भ्रमण आयको तुलनमा भ्रमण खर्च बढी रहेको छ ।

चालु आथिक वर्षको फागुनसम्म भ्रमण आयभन्दा भ्रमण खर्च एक अर्ब ४३ करोड बढी छ । गत आर्थिक वर्षको फागुनमा यस्तो अन्तर ४८ अर्ब १६ करोड रहेको थियो ।

सन् २०२३ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६२.५ प्रतिशत पर्यटकले बिदा मनोरञ्जन यात्राका लागि भ्रमण रहेका थिए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी मुलुककै बढी भ्रमण गरिने गन्तव्यका रुपमा रहेको छ ।

सन् २०२३ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ५६ हजार, भारतीय दुई लाख ६ हजार र अन्य मुलुकका ८९ हजार गरी १० लाख ११ हजार रहेका छन् ।

सन् २०२३ मा आएका पर्यटकमध्ये भारतबाट ३१.५ प्रतिशत, अमेरिकाबाट ९.९ प्रतिशत, चीनबाट ६.० प्रतिशत, बेलायतबाट ५.२ प्रतिशत, अस्ट्रेलियाबाट ३.८ प्रतिशत, बंगलादेशबाट ३.६ प्रतिशत र अन्य मुलुकबाट ४०.० प्रतिशत रहेका छन् । सन् २०२३ मा ६ गुणा र दक्षिण कोरियाबाट आउने पर्यटकको संख्या करिब १० गुणाले वृद्धि भएको छ ।

पर्वतारोहण दल (हिमाल आरोहण) को संख्या सन् २०२३ मा १५.० प्रतिशतले बढेर दुई हजार २५३ पुगेको छ । पर्वतारोहणको संख्या सन् २०२२ मा आठ हजार ४६८ रहेकामा सन् २०२३ मा ११.० प्रतिशतले वृद्धि भई नौ हजार ३९८ पुगेको छ । पर्वतारोहीको संख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी सन् २०२३ मा ४२.० प्रतिशतले वृद्धि भई ९९ करोड ९३ लाख पुगेको छ ।

डिलक्ससहित पाँचतारे होटलको संख्या १८२ पुग्यो

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट हालसम्म २७ हजार ३४६ दक्ष जनशक्ति उत्पादन भएका छन् । नेपाल पर्वतीय पर्यटन प्रतिष्ठानबाट हालसम्म पाँच हजार ८५३ व्यक्तिले विभिन्न विधामा तालिम प्राप्त गरेका छन् ।

डिलक्ससहित पाँचतारे होटलको संख्या २०७९ पुससम्म १७३ रहेकामा २०८० पुससम्म १८२ पुगेको छ । त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या २०७९ पुससम्म एक हजार २२८ रहेकामा २०८० पुससम्म एक हजार २३४ पुगेको छ ।

होटलको शय्या ३७ हजार बढी

तारेस्तरका होटलमा रहेका शय्याको संख्या चालु आर्थिक वर्षको पुससम्म ७३८ थप भई हालसम्म १७ हजार ७३ पुगेको छ । यसैगरी, तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शय्याको संख्यामा चालु आर्थिक वर्षको पुससम्म २४९ थप भई हालसम्म ३७ हजार २९७ पुगेको छ ।

२०८० पुससम्म क्यासिनो १३ र मिनिक्यासिनो १७ गरी ३० सञ्चालनमा छन् । २०८० असारसम्म यस्तो संख्या २८ पुगेको थियो । सन् २०२३ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या ३१ रहेको छ ।

त्यसैगरी, द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको संख्या ४१ पुगेको छ । दुईतर्फ हवाई सिट क्षमता संख्या वार्षिक ८७ लाख ५५ हजार छ । आन्तरिक उडान गर्ने वायुसेवाको संख्या २२ पुगेको छ ।

त्यस्तै, सञ्चालनमा रहेका कुल विमानस्थलको संख्या ३३ रहेको छभने सबै मौसममा सञ्चालन हुनसक्ने कालोपत्र भएका विमानस्थलको संख्या ४१ रहेको छ ।