काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा अस्तित्वमा रहेकामध्ये २६ वटा संस्थानले नाफा आर्जन गरेका छन् भने १५ वटा संस्थान घाटामा छन् । अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधि सभा बैठकमा पेस गरेको आर्थिक सर्वेक्षणअनुसार ३ वटा संस्थानको कारोबार भने शून्य छ ।
औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा छन् ।
स्वामित्वका आधारमा हेर्दा २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा छन् । २०८० असार मसान्तसम्म कायम रहेका ४४ संस्थानमध्ये कम्पनी ऐनबमोजिम स्थापना भएका ३३ वटा, विशेष ऐनबमोजिम स्थापना भएका ७ वटा, सञ्चार संस्थान ऐन बमोजिम स्थापना भएका २ वटा, सहकारी ऐन बमोजिम स्थापना भएका एउटा र संस्थान ऐनबमोजिम स्थापना भएको एउटा संस्थान छ ।
आर्थिक वर्ष २०७८/७९ मा संस्थानको कुल सञ्चालन आय ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकोमा आर्थिक वर्ष २०७९/८० मा १४.८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १ करोड २९ लाख पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा ३०४६.२० प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० मा ४८ अर्ब ५१ करोड ७५ लाख पुगेको छ ।
यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आव २०७८/७९ मा ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेकोमा आव २०७९/८० मा ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहनु मुख्य कारण हो ।
आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१.४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी २.८१ प्रतिशतले बढेको देखिन्छ ।
सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३.७९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० मा सेयरधनी कोष (नेटवर्थ) गत आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई ९ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधि ३२ वटा संस्थानको सेयरधनीकोष धनात्मक र बाँकी १० वटाको सेयरधनी कोष ऋणात्मक छ ।
नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.६२ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्व १० करोड ७४ लाख पुगेको छ । गत आर्थिक वर्षको तुलनामा सेयर लगानी ९.१९ प्रतिशतले वृद्धि भई ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख पुगेको छ भने ऋण लगानी ७.८६ प्रतिशतले कमी आई २ खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख पुगेको छ ।
तुलनामा आर्थिक वर्ष २०७९/८० मा कोषमा व्यवस्था नभएको दायित्व गत आर्थिक वर्षको ११.६३ प्रतिशतले वृद्धि भई ५२ अर्ब ८७ करोड २ लाख पुगेको छ भने सम्भावित दायित्व ४४.८३ प्रतिशतले बढेको छ ।
सार्वजनिक संस्थानमा आव २०७८/७९ को तुलनामा चुक्ता पुँजी १०.६२ प्रतिशतले वृद्धि
भई आर्थिक वर्ष २०७९/८० मा ४ खर्ब १२ अर्ब १२ करोड ८१ लाख पुगेको छ । जसमा नेपाल सरकारको पुँजी लगानी ९२.१३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ७.८७ प्रतिशत सेयर स्वामित्व छ ।
आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोडमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात १२.२८ प्रतिशत छ ।
नेपाल सरकारले प्राप्त गरेको कुल आयकरमा आर्थिक वर्ष २०७८/७९ मा संस्थानको योगदान ५.५९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ६.९७ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सञ्चित कोषमा सार्वजनिक संस्थानले कुल १७ अर्ब ३९ करोड ४६ लाख आयकर दाखिला गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२ हजार १८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा संस्थानको सञ्चित नाफामा १६.६८ प्रतिशतले वृद्धि भई ६१ अर्ब १४ करोड ९६ लाख पुगेको छ ।
सञ्चालनमा रहेका संस्थानमध्ये सातवटा संस्थान नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत छन् । कुल बजार पुँजीकरणमा सूचीकृत सरकारी संस्थानको हिस्सा २०८० असार मसान्तमा १८.३२ प्रतिशत छ ।
निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थानमध्ये १० वटा संस्थान नाफामा
सञ्चालनमा छन् ।
निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता खारेजी भई कानुनी रूपमा अस्तित्व समाप्त भएको छ ।
कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ भदौ ३१ को निर्णयअनुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन ।
सार्वजनिक संस्थानको प्रशासनिक खर्च आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब ४६ करोड ४७ लाख रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २३.७९ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९० करोड १८ लाख छ ।
२० वटा संस्थानले आव २०७९/८० सम्मको लेखापरीक्षण गराएका छन् भने अन्य २४ वटा संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन् ।
आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल आयल निगम लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् ।