काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन् ।
प्रतिनिधिसभाको आज आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरले अनुमति दिएपछि उनले सर्वेक्षण पेस गरेका हुन् ।
‘गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको चित्रण तथा विश्लेषण गरिएको छ,’ उनले भने ।
मुलुकको आर्थिक, सामाजिक परिसूचकमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारले मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिए ।
अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती र लुम्बिनीको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने र चालु आवमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको बताए ।
‘प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ६.०८ प्रतिशत छ । राजस्व परिचालनमा क्रमशः सुधार हुँदै गएको छ,’ उनले भने ।
अर्थमन्त्री पुनले चालु आवको फागुनसम्म संघीय सरकारको राजस्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब पाँच करोड पुगेको जानकारी दिए । यस अवधिमा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भई आठ खर्ब एक अर्ब ५८ करोड पुगेको उल्लेख गरे ।
‘२०८० फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत छ,’ अर्थमन्त्री पुनले भने, ‘आव २०७९/८० मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ९७ अर्ब २६ करोड र राजस्व बाँडफाँडमार्फत एक खर्ब २० अर्ब २६ करोड गरी पाँच खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।’
वित्तीय क्षेत्र सुधार हुँदै गएकाले उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र निक्षेप एवं कर्जाको व्यापार दर घट्दै गएको उल्लेख गरे । चालु आवको फागुनसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको उनले जानकारी दिए ।
अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको सञ्जालमा विस्तार, विद्युतीय माध्यमबाट हुने कारोबार, वित्तीय साक्षरता प्रवर्धनसँगै प्रतिशाखा जनसंख्या दुई हजार ५१५ पुगेको बताए ।