• Menu

सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम तोकेरमात्र छानबिन समिति बनाउन कांग्रेस दृढ

विरोधका बीच नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी

नेपाल प्रफिट

२०८१ जेठ १३, १०:५८

सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम तोकेरमात्र छानबिन समिति बनाउन कांग्रेस दृढ

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम तोकेरमात्र संसदीय छानबिन समिति बनाउने निर्णय गरेको छ ।

कांग्रेस नेताहरुको आइतबार बिहानको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरेर छानबिन समिति गठन हुनुपर्ने पुरानो अडान कायमै राख्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस नेताहरुले गोर्खा मिडिया नेटवर्कको मात्र नाम लिएर नपुग्ने बताएका छन् । उनीहरुले त्यहाँ संलग्न व्यक्तिका बारेमा उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने अडान कायमै रहेको बताए ।

सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने बताइरहेका छन् । आन्तरिक छलफलअघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् ।

सहकारीकै विषयलाई लिएर कांग्रेसले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको छ । सरकारले विरोधकै बीच आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।