विचार
बढ्दो आधुनिकीकरणसँगै संसारमा नयाँ–नयाँ स्वास्थ्य समस्या उत्पन्न हुँदै गएका छन् । समयको गतिसँगै कुनै बेला आक्कलझुक्कल देखिने उच्च रक्तचाप (ब्लड प्रेसर)को समस्या अहिले प्रशस्तै देखिन थालेको छ ।
कतिपय २० देखि ३० वर्षका जवानहरुमा पनि यो समस्याका लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लड प्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतमात्रै प्रस्ट रुपमा थाहा भएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।
बदलिँदो जीवन शैलीसँगै मानिसहरु विलासी भएको महसुस हुन्छ । मीठो–मीठो मात्र खानुपर्ने, मांसहारी खानामा मात्र जोड दिने, रक्सी, सुर्ती जस्ता नसालु पदार्थको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिले पनि ब्लड प्रेसरको समस्या थपिँदै गएको छ । फलस्वरुप हृदयघात, प्यारालाइसिस (मस्तिष्क घात) हुनुका साथै मिर्गौला तथा आँखामा क्षति बढेको पाइन्छ ।
ब्लड प्रेसर सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक असरहरुबारे मानिसमा पर्याप्त जानकारी नभएकाले होला, खासै महत्व दिएको पाइँदैन । जसले ब्लड प्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन्, उनीहरुले मात्रै ब्लड प्रेसर यस्तो रहेछ भनेर आत्मसात् गरेका हुन्छन् ।
ब्लडप्रेसरको औषधि खायो भने यस्तो हुन्छ रे ! जिन्दगीभरि खानुपर्छ रे ! साइड इफेक्ट गर्छ रे ! भन्ने धेरै किसिमका भनाइ सुनिन्छन् । तर, औषधि नखाई सधैँ हाइ ब्लड प्रेसर लिएर हिँड्दा के–के खतरा हुन्छ भन्ने धेरैले विचार गरेको पाइँदैन ।
ब्लड प्रेसर हाइ भएका बिरामी सबैमा लक्षण देखिनैपर्छ भन्ने हुँदैन । कसैलाई १५० पुग्नासाथै टाउको दुख्ने, रिंगटा लाग्ने भएर आइपुग्छन् भने कोही–कोहीमा माथिको (सिस्टोलिक) प्रेसर २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुनसक्छ ।
बिरामी अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा हाई देखिएपछि डाक्टरकहाँ पुग्छन् । कतिपय अवस्थामा प्रेसर हाइ भएर पनि लक्षण नदेख्नु भनेको लक्षण देखिने प्रेसरभन्दा खतरनाक हुन सक्छन् । यस अर्थमा कि लक्षण नदेखिँदा आफूलाई सबै ठिकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या निम्त्याउन सक्छ ।
केही लक्षण नदेखिए पनि निरन्तर हाइ प्रेसरले शरीरका अंगहरुमा पुर्याउने क्षति पुर्याई नै रहेको हुन्छ । विशेषगरी मुटु, मृगौला, आँखा र मस्तिष्कहरुमा । यस्ता प्रेसर हाइ भएर पनि लक्षण नदेखिने बिरामी नै एकैपटक हृदयाघात या मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ ।
त्यसैले आफ्नो ब्लड प्रेसर समय–समयमा देखाइरहन आवश्यक छ । साथै, प्रेसर हाई भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधि सेवन आवश्यक छ ।
ब्लड प्रेसर उच्चै रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन । खानामा नुन र चिल्लोको मात्रामा कमी गर्ने, दिनहुँ शारीरिक व्यायाम गर्ने र मानसिक तनाव कम गर्ने गर्नाले प्रेसर कम हुनसक्छ ।
औषधिको मुख्य काम ब्लड प्रेसरलाई नियन्त्रणमा राख्नु हो । यसले ब्लड प्रेसरलाई नियन्त्रणमा राखेर शरीरका अन्य अंगमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ । नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाहबमोजिम खानामा परहेज र नियमित व्यायाम आदि गर्दै गएमा कुनै समय ब्लड प्रेसर घट्दै पनि जानसक्छ ।
बारम्बार नाप्दा पनि आवश्यकभन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधिको मात्रा कम वा औषधि नै बन्द पनि गर्न सकिन्छ । ब्लड प्रेसरको औषधि पनि स्वस्थ रहनै खाने हो ।
ब्लड प्रेसरका औषधिको पनि आफ्नै किसिमका साइड इफेक्ट छन् । डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाहअनुसार नियमित जाँच गरिरहेमा साइड इफेक्ट हुन थालेमा तुरन्तै पत्ता लाग्छ । औषधि सुरु गरेपछि कम्तीमा १५ दिनमा एकचोटि ब्लड प्रेसर नाप्ने बानी बसाल्नुपर्छ र डाक्टरसँग कम्तीमा ३ महिना र बढीमा ६ महिनामा एकचोटि भेट्ने गर्नैपर्छ ।
धूमपान गर्ने मानिसलाई हाई ब्लड प्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुनेलगायत हृदयाघात हुने सम्भावना रहिरहन्छ । जाँडरक्सी पिउँदा हामीमध्ये कति जनालाई एउटा सीमामा रहेर पिउने आदत हुन्छ ? रक्सी पिएपछि बेहोसै हुनेगरी पिउनुपर्ने, रक्सीसँग भुटेको तारेको, पिरो, नुनिलो स्न्याक्स नै चाहिने तथा ड्रिङ्स गर्दा चुरोट पिउनुको छुट्टै मजा हुने गरेको बिरामी बताउँछन् ।
ब्लड प्रेसर नियन्त्रणका लागि चलाइने औषधि मानिसको शारीरिक बनावट, वजन, अरु स्वास्थ्य समस्या, खानपान, उसले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधिको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई–तीनवटा त्यो पनि दिनको दुईपटक वा बढी पनि खानुपर्ने हुनसक्छ ।
विशेषगरी घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका बिरामीमा तथा ब्लड प्रेसरका साथै अन्य समस्याको पनि औषधि खाने बिरामीमा यो समस्या देखिन्छ । मानिसको ब्लड प्रेसर मानिसले गर्ने शारीरिक व्यायाम, खानेकुराहरु, निद्रा, तनाव आदि विभिन्न कुरामा भर पर्छ ।
तनावको बेला, निद्रा नपरेको बेला, भर्खरै शारीरिक व्यायाम गरेको बेला, परिश्रमको काम गरेको बेला केही क्षणको लागि ब्लड प्रेसर हाइ देखिन सक्छ ।
ब्लड प्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नुनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नुन कम गर्ने भनेको नुन भएको धेरै किसिमको परिकार नखाने भनेको हो । शरीरलाई चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नुन हो । योभन्दा बढी ब्लड प्रेसरका लागि ठीक होइन ।
केही मात्रामा नुन शारीरिक स्वस्थताको लागि पनि चाहिन्छ । त्यसैले नुन चटक्कै बन्द गर्नाले शरीरमा अन्य समस्या आउन सक्छ, त्यसैले कदापि नुन चटक्कै बन्द गर्न हुँदैन ।
प्रेसरका बिरामी तथा प्रेसरको औषधि खाने बिरामीले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मृगौला तथा पिसाबको जाँच तथा कोलेस्ट्रोलको जाँच कम्तीमा ३ र बढीमा ६ महिनामा नियमित गरिरहनुपर्छ ।
साथै ईसीजी, इको जाँचहरु मुटुरोग विशेषज्ञको सल्लाहअनुसार दोहोर्याउनुपर्छ । यसले प्रेसर नियन्त्रणमा रहे–नरहेको पत्ता लाग्छ । साथै, कुनै साइड इफेक्ट भो कि पत्ता पनि लाग्छ ।
अन्त्यमा, ब्लड प्रेसरको नकारात्मक असरहरुबाट बच्न मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुन जरुरी छ । साधारणतया उमेर ४० को वरिपरि पुगेपछि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरी केही कुराहरु : दैनिक स्वस्थ खाना खाने, रक्सी, चुरोट, सुर्ती तथा अन्य कुनै नसालु पदार्थ सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा तनावबाट टाढा रहने आदि कुरा पालना गर्नैपर्ने हुन्छ । किनकि, उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरुले छुन थाल्छ ।
(डा. मिलनप्रकाश श्रेष्ठ काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।)
यो पनि पढ्नुहोस्
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal