काठमाडौं । सात करोड ६५ लाख रुपैयाँबराबरको कारोबार गर्दै नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेलामा प्रत्यक्ष अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी समग्रमा सात करोड ६५ रुपैयाँबराबरको कारोबार भएको जानकारी दिए ।
अर्थतन्त्र असहज भएको तथा अन्य चुनौतीका बीच पनि उपभोक्ताको स्वदेशी उत्पादनप्रति अपार माया देखिएको बताए । प्रदर्शनीका सहभागीको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नुपर्छ भन्ने चेतना बढ्दो क्रममा देखिएको उनको भनाइ छ ।
भूकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमी सताइएकाले साना उद्योगको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने उनले बताए ।
समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्रान्डिङ’ गरेर विश्व बजारमा पुर्याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताए ।
स्वदेशी उत्पादनप्रति उपभोक्ताको चासो बढिरहेकाले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने अर्थसचिव मरासिनीको भनाइ छ ।
अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएरमात्रै सम्भव हुने उनले बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए । आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको जानकारी उनले दिए ।
आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवर्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको पनि उनले बताए । ‘तयारी मालवस्तु र कच्चापदार्थमा कम्तीमा दुई तहको भन्सार दर हुने गरी कर निर्धारण गर्न सकिनेबारे छलफल भइरहेको छ,’ उनले भने ।
नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेले प्रदर्शनीकै दौरानमा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह विक्रेता र उपभोक्ताबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएको महमेला प्रभावकारी भएको बताए ।
लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ ।
मुलुकभरका झन्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको थियो ।
नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टल राखिएका थिए ।