• Menu

कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री

नेपाल प्रफिट

२०८१ वैशाख २०, बिहीबार ११:४३

कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै उनले भने,  ‘कैदीबन्दीलाई कृषिदेखि विकास निर्माणसम्मका काममा लगाउन सकिन्छ, यसले उनीहरुको क्षमता विकाससँगै उत्पादकत्व वृद्धि र शारीरिक तथा मानसिक तन्दरुस्तीलाई पनि फाइदा पुर्‍याउँछ ।’

कारागारहरु यातना केन्द्र होइन, सुधार गृह बनुन् भन्नेमा सरकार सचेत रहेको उनले बताए । ‘सरकारका तर्फबाट गर्नुपर्ने सुधारका काम निकै छन्, आवश्यक प्रयास भइरहेको छ,’ लामिछानेले भने, ‘सजाय भुक्तानी गरेर फर्किएकालाई समाजमा पुनःस्थापित हुन गाह्रो छ, त्यसतर्फ पनि हामी सचेत बन्नुपर्छ, कारागारबाट फर्किएकालाई समाजले फेरि कारागार नै पठाउने परिस्थितितर्फ धकेल्नु हुँदैन ।’

पहुँच हुनेले मात्रै कैद मिनाहा पाएको भन्ने गुनासो गर्ने स्थिति अब रहन नदिइने उनले बताए । ‘अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ, त्यसबारे छलफल सुरु गरिसकेका छौं,’ गृहमन्त्रीले भने, ‘कैद मिनाहका लागि कैदीबन्दीले पनि पहुँच खोज्ने होइन, आचरण सुधार गर्ने हो, असल आचरण हुनेका लागि कसैको पहुँच चाहिन्न, सरकार छ ।’

१३४ रोपनी क्षेत्रफलमा फैलिएको कारगारमा ३ हजार (२४ सय पुरुष र ६ सय महिला) कैदीबन्दी राख्ने क्षमता छ । कारागार करिब ३ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो ।

तीन चरणमा निर्माण सम्पन्न भएको कारागारमा प्रशासनिक, मेडिकल र स्पोटर्स ब्लकसहित ३ वटा मुख्य भवन छन् । प्रत्येक भवनमा एक–एक हजार कैदीबन्दी अट्छन् । कारागार परिसरभित्र नेपाल र सशस्त्र प्रहरीका लागि ब्यारेक पनि निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्