• Menu

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्, ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल हुन्छ : अर्थमन्त्री

नेपाल प्रफिट

२०८१ वैशाख १९, बुधबार १६:४५

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्, ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल हुन्छ : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् ।

विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले उल्लेख गरे ।

‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ, स्वाभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् तर तथ्यांकहरुले विस्तारै त्यसमा सुधारका संकेत देखाएका छन्,’ मन्त्री पुनले भने, ‘विश्व बैंकले ३.३ र एडीबीले ३.६ प्रतिशतको वृद्धि अनुमान गरेका छन्, हिजो मात्रै राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ, यो ९ महिनाको प्रक्षेपण हो ।’

आर्थिक वर्ष अझै तीन महिना बाँकी रहेको, केही पुँजीगत खर्च बढ्ने र सरकारले सकारात्मक प्रयत्न गरेकाले आर्थिक वृद्धि ४.५ प्रतिशतभन्दा बढी हासिल हुने अनुमान अर्थ मन्त्रालयले गरेको उनले बताए ।

यद्यपि, अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उनको भनाइ छ । मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत र भूराजनीतिमा टेकेर सरकारले आर्थिक नीति बनाउने जानकारी गराए ।

नेपाल विश्व अर्थतन्त्रका दुई उदीयमान हस्तीहरु भरत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नेमा पक्षमा सरकार रहेको उल्लेख गरे । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए ।

आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको उनले बताए ।

उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको तर्क गरे । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुँदा २०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गर्न सक्ने अवस्था आएको उनले चर्चा गरे ।

‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ, यस बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन,’ मन्त्री पुनले भने, ‘यसको अर्थ नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र वौद्धिक व्यक्तित्वहरु मिलेर चिर्नुपर्छ ।’ उनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए ।

फरक प्रसंगमा मन्त्री पुनले नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको बताए । वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी गर्न आइरहेको उनले उल्लेख गरे ।

‘हालसम्म नेपालमा लगानी गरेका कम्पनीले घाटा व्यहोरेको मलाई थाहा छैन,’ उनले भने, ‘यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण हो ।’

प्रतिक्रिया दिनुहोस्