• Menu

नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब, प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान

नेपाल प्रफिट

२०८१ वैशाख १८, मंगलबार १८:१०

नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब, प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा ३.८७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार चालु आवको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले चालु आवको ६-८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा आर्थिक वृद्धिदर सार्वजनिक गरिएको बताए । ‘यसले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गर्छ,’ उनले भने ।

सरकारले भने चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । अर्थतन्त्रमा देखिएको शिथिलताले गत आवमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएको थियो ।

कार्यालयका अनुसार उपभोक्ता मूल्यमा ३.८७ प्रतिशत र आधारभूत मूल्यमा ३.५४ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुनेछ । नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४.८ अर्ब पुग्ने कार्यालयको अनुमान छ ।

कार्यालयका अनुसार कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान छ । त्यस्तै कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहनेछ ।

त्यस्तै नेपालीको प्रतिव्यक्ति औसत आय बढेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । चालु आवमा प्रतिव्यक्ति औसत आय एक हजार ४५६ डलर पुग्ने अनुमान गरिएको हो । गत आवमा प्रतिव्यक्ति आय एक हजार ४०५ डलर थियो ।

 

प्रतिक्रिया दिनुहोस्