• Menu

इलाम-२ मा रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत

नेपाल प्रफिट

२०८१ वैशाख १८, मंगलबार ०९:५७

इलाम-२ मा रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मंगलबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत ६ हजार ८४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मत पाएका छन् ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू र नेसनल रिपब्लिक नेपालका धनराज रानामगर छन् ।

त्यस्तै राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली तथा स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्