काठमाडौँ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुनसँग गरेको साइडलाइट वार्ताका क्रममा नेपाल लगानीका लागि उपयुक्त भूमि भएको बताएका हुन् ।
उनीहरुले सरकारले हालैमात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानी वातावरण बनाएको स्पष्ट गरे । उनीहरुले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेर प्रशंसा गरेका छन् ।
सम्मेलन उद्घाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेन्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएको तर्फ उनीहरुको संकेत थियो ।
उनीहरुले कानुनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाव दिए । नेपालका दलहरुमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरुको भनाइ छ ।
बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।