इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार ५३६ मत गणना भइसकेको छ । अहिलेसम्मको गणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् ।
हालसम्मको मत गणनाअनुसार नेम्बाङले आठ हजार ८९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार २८२ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ६३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार ३०५ मत प्राप्त गरेका छन् । अहिले माङ्सेबुङ गाउँपालिका–१ को मतगणना भइरहेको छ ।
इलाम–२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै ६–६ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै ९ वडा र इलाम नगरपालिकाका ११ वडा (१० बाहेक) गरी ४२ वडा पर्छन् ।
एक लाख १५ हजार ८८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २८७ जनाले मतदान गरेका छन् । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए ।
त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार थिए । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन छ ।