काठमाडौं । काठमाडौंमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको बताए । दुई दिन चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको उनको भनाइ छ ।
यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजना सोकेसमा राखिएको उनले बताए । विभिन्न ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् भने नेपालबाट ३८५ जनाको सहभागिता छ ।
चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ–नौ जना सम्मेलनमा सहभागी हुने लगानी बोर्डले जनाएको छ ।
त्यस्तै पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच–पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार–चार जनाको सहभागिता छ ।
त्यसैगरी, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका तीन–तीनजना सम्मलेनका लागि नेपाल आएका छन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई–दुई जना सम्मेलनमा सहभागी हुनेछन् ।
त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता छ ।
सम्मेलनमा करिब ९ खर्ब रुपैयाँबराबरका १५१ परियोजनामा सोकेसमा राखिएका छन् । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गरिएको हो ।
पर्याप्त पुँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले ठहर गर्दै लगानी सम्मेलन आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
आयोजनामा सहभागी हुने ५५ देशका १६ सयभन्दा बढी उद्योगी व्यवसायी काठमाडौं आइपुगेका छन् । लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग तथा लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्नेछ ।
सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना समावेश छन् । त्यस्तै यातायात क्षेत्रका १९, पर्यटन पूर्वाधारका १६, भौतिक पूर्वाधारका पाँच, खानी र खनिजजन्य क्षेत्रका १३ परियोजना, कृषि विकासका १४, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, जल आपूर्तिका चार र सहरी विकास क्षेत्रका ६ वटा परियोजना रहेको लगानी बोर्डले जनाएको छ ।
निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ ।