काठमाडौं । संसदीय समितिले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सबै रोजगारदातालाई सूचीकृत गराउन निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको कार्यक्रममा सबै रोजगारदातालाई तत्काल सूचीकृत गराउन निर्देशन दिएको हो ।
समितिले सबै सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित संस्थामा कार्यरत कर्मचारी र श्रमिकलाई कोषमा आबद्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको सभापति अब्दुल खानले जानकारी दिए ।
अनौपचारिक क्षेत्रमा रहेका कामदारलाई समेत कोषमा आबद्ध गराई सेवा सुविधा उपलब्ध गराउन समितिले निर्देशन दिएको छ । समितिले श्रम मन्त्रालयका लागि चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको कार्यान्वयन तथा मन्त्रालयको अहिलेसम्मको कामकारबाहीको सम्बन्धमा मन्त्री डोलप्रसाद अर्याल, सचिव घनश्याम उपाध्यायसँग जानकारी लिँदै यस्तो निर्देशन दिएको हो ।
समितिले वैदेशिक रोजगार व्यवसायीको नियमित अनुगमन तथा निरीक्षण गरी वैदेशिक रोजगारीका क्षेत्रमा हुने सबै प्रकारका ठगी तथा बदमासीको अन्त्य गर्न पनि निर्देशन दिएको छ ।