काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत काममा लगाइएका सबै सुरक्षाकर्मीलाई २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएका छन् ।
गृहमन्त्री लामिछानले बिहीबार सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा यथाशीघ्र (२४ घण्टाभित्र) फिर्ता बोलाई त्यसको विवरण उपलब्ध गराउन नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ र अन्य प्रचलित कानुनबमोजिम विशिष्ठ व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत फिर्ता गराउन निर्देशन दिएको जनाएको छ ।
गृहले विशिष्ठ व्यक्तिहरुको जिल्ला भ्रमणलगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुबै प्रहरी संगठनलाई निर्देशन दिएको छ ।
मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।