काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभललाई आग्रह गरेको छ ।
विभागले बुधबार नै पत्राचार गरी हवाई टिकटमै खानाखाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समयभन्दा तीन घण्टाअघि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
यसरी घण्टौँको यात्रामा पनि श्रमिकले न्यूनतम खानाखाजा र पानीसमेत नपाउने गरेको गुनासो आएपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरले बताए ।
‘बजेट एयरलाइन्स भन्ने तर मूल्य चर्को तिर्नुपर्ने अनि न्यूनतम खानाखाजा तथा पानी पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ, यस्तो धेरै गुनासो सुनियो, त्यसैले सबैलाई बोलाएर छलफल गर्यौं,’ उनले भने । छलफलपछि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा सुविधा तोक्न आग्रह गरेको उनले बताए ।
त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्राधिकारभित्र रहेको काम गर्न सचेतसमेत गराएको छ ।